Thursday, 6 March 2014

आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको अन्तिम तयारी

काठमाडौ, फाल्गुन २२ - 
आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको अन्तिम तयारीका लागि यूएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहीबार अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ४४ रनको हार बेहोरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी) ले अभ्यास खेल आयोजना गरेको हो । आईसीसीले टेस्ट मान्यता नपाएका तर बंगलादेशमा चैत दुईदेखि हुने प्रतियोगितामा सहभागिता जनाउने देशलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएको हो । एक साताका लागि यूएईमा रहने नेपालले पहिलो अभ्यास खेलमा सहभागिता जनाएको हो । 

टस जितेर नेपालले नेदरल्यान्ड्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेट क्षतिमा १ सय ९५ रन बनायो । प्रत्युत्तरमा नेपाल सात विकेट गुमाउँदै १ सय ५१ रनमा सीमित भयो । नेपालको सुरुआत सामान्य रह्यो । इनिङ्सको सुरुआत गर्न गएका सुवास खकुरेलले दुई रन मात्र बनाए भने सागर पुनले १५ रनको योगदान गरे । सुवासले स्वास्थ्यका कारण न्युजिल्यान्डमा भएको आईसीसी वान-डे विश्वकपको कुनै पनि खेल खेलेका थिएनन् । दुई विकेट क्षतिमा ४३ रन बनाएको नेपालका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले इनिङ्स अघि बढाएका थिए । 

पारसले ३१ रन बनाए भने ज्ञानेन्द्रले ३९ रनको योगदान गरे । विनोद भण्डारी ३९ रनमा नटआउट रहे । त्यस्तै शरद भेषवाकरले १३ रन बनाए । प्रदीप ऐरीले खाता खोलेनन् भने वसन्त रेग्मीले एक रनमात्र बनाए । शक्ति गौचन तीन रनमा नटआउट रहे । नेदरल्यान्ड्सका मुदासर बुखारी र लोगान भान विकले दुई/दुई विकेट लिए । 

यसअघि नेदरल्यान्ड्सका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । प्रारम्भिक ब्याट्सम्यान बिन कुपरले ६५ रन बनाएका थिए भने तेस्रो क्रममा आएका कप्तान पिटर बोरेनले ६२ रन जोडे । उनीहरूले दोस्रो विकेटका लागि ८८ रनको गतिलो साझेदारी गरेका थिए । त्यस्तै, मुदासर बुखारीले ३१ रन बनाए । नेपालका सोमपाल कामीले २४ रन र जितेन्द्र मुखियाले ३३ रन खर्चेर दुई/दुई विकेट लिए । अमृत भट्टराईले तीन ओभरमा ४२ रन दिएर एक रन लिए भने महँगा देखिएका वसन्त रेग्मीले पनि एक विकेट झार्न चार ओभरमा ४८ रन खर्चे । 

नेपालले दोस्रो अभ्यास खेल शुक्रबार यूएईसँग खेल्ने छ । नेपाली टिम आइतबार बंगलादेश पुग्नेछ । बंगलादेशमा चैत २ मा हङकङसँग पहिलो खेल खेल्नुअघि नेपालले आयरल्यान्ड र यूएईसँग अभ्यास खेलमा प्रतिस्पर्धा गर्नेछ ।

हेडमिस्त्री गुडनीदेवी

सुक्खड -कैलाली, फाल्गुन २२ -
घर बनाउने डकर्मी सबैतिर पुरुष नै हुन्छन् । महिलाहरू बालुवा, सिमेन्ट, मसला बोक्ने र ढुंगा पुर्‍याइदिने जस्ता सहयोगी भूमिकामा मात्रै देखिन्छन् । तर दरख-५ सुक्खडकी गुडनीदेवी डगौरा थारू हेडमिस्त्री नै छिन् । सहयोगी पुरुष, महिलालाई पछि लगाएर घर बनाउने कामको नेतृत्व गर्छिन् ।

अहिलेसम्म गुडनीदेवीले ९० भन्दा बढी व्यक्तिगत घर, स्वास्थ्य चौकी, विद्यालय भवन, विभिन्न कार्यालयका पर्खाल र गेट बनाइसकिन् । कामको भ्याइनभ्याई छ उनलाई । सबैको रोजाइमा उनी नै पर्छिन् । 'बिहानै मानिस घरमै आएर कामका लागि अनुरोध गर्छन् तर फुर्सदै हुँदैन । एक्लै कति काम भ्याउनु,' उनले भनिन्, 'सबैले मलाई नै बोलाउँछन् । जसरी पनि गर्दिनैपर्छ ।' उनी हेडमिस्त्री भएको ६ वर्ष भइसक्यो । घर निर्माणमा ५ वर्षजति मजदुरी गरेपछि सबै काम सिकेको गुडनीदेवीले बताइन् । 'सुरुमा घर बनाउँदा सामान पुर्‍याउने काममा मजदुरी गरें । मिस्त्री सबै पुरुष मात्रै हुन्थे । हामी महिला भने सधैं भारी बोक्ने, सामान पुर्‍याउने मात्रै,' उनले भनिन्, 'ज्याला पनि मिस्त्रीको धेरै हुने, हाम्रो कम । के मैले मिस्त्री काम गर्न सक्दिनँ त भन्ने सोचेर नजिकबाट काम हेर्दै, सिक्दै गरें ।'

दिनदिनै ६/७ जना महिला, पुरुषको नेतृत्व गर्दै घर बनाइरहेकी हुन्छिन्, गुडनीदेवी । आफंै बाँसको खट तयार पार्छिन्, अनि दुई तला माथिसम्म चढेर काम गर्छिन् । पुरुष तलबाट सामान पुर्‍याइदिन्छन् ।

 सामान्य कमैया परिवारकी उनको ५ कट्ठा मात्रै जग्गा छ । एक बिघा जमिन अधिया कमाएकी छन् । 'घर निर्माणको काम निरन्तर भइरहन्छ, खेतीपाती गर्न पाइँदैन । कमाएको पैसाले मजदुर लगाउँछु,' उनले भनिन्, 'यसले गर्दा केहीले रोजगार पनि पाउँछन् ।'

गुडनीदेवी साडीपानी, निम्दी, झालुफाटालगायत गाउँसम्म काममा जान्छिन् । श्रीमान् घरको काम गर्छन् । आर्थिक अभावका कारण छोरी जुगिना १२ वर्षको हुँदादेखि चार वर्ष कमलरी बसेकी थिइन् । तर अहिले उनलाई १२ कक्षामा पढाइरहेकी छिन् । छोरा राजु ९ कक्षा पढ्छन् र फोटो स्टुडियो चलाउँछन् । 'सीप नसिके केही हुँदो रहेनछ भनेर डकर्मी काममा लागेकी हुँ,' उनले भनिन्, 'अहिले यही कमाइले छोराछोरी पढाइरहेकी छु । थप जग्गा किन्ने तयारीमा छु ।' उनी मासिक १५ हजारभन्दा बढी बचत गर्छिन् ।